Logo

प्रचण्डजीले मित्रघात गर्नुभयो, उहाँकै कारण हामी समाजवादी मोर्चाबाट बाहिरिएका हौंः महासचिव शर्मा (भिडिओसहित)



काठमाडौं, ३ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले समाजवादी मोर्चा कमजोर बन्नुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलालसँग संवाद गर्दै उनले आफ्नो पार्टी विभाजन गराएर प्रचण्डले मित्रघात गरेको उनले बताए । प्रचण्डले आत्मालोचना गरेर वातावरण नबनाएसम्म आफूहरु मोर्चामा नजाने उनले बताए ।

‘यसको मूल कारण पूर्व प्रधानमन्त्री प्रचण्डजी हुनुहुन्छ । हामीले लामो समयदेखि मित्रता गर्यौं, उहाँलाई साथ, सहयोग गर्यौ । तर, उहाँले मित्रघात गर्नुभयो । हाम्रो पार्टीलाई विभाजन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँमा इमानदारिता नदेखिएको कारण यो मित्रता रोकिएको हो,’– उनले भने ।

देश र जनता, लोकतन्त्र र नागरिकको उज्वल भविष्यको लागि मोर्चा बनाउनुपर्नेमा प्रचण्डले आफ्नो स्वार्थ राखेर मोर्चा बनाउने र भत्काउने काम गरेको उनले बताए । प्रचण्डले सार्वजनिक भाषणमार्फत् नै जसपा नेपाल आफूले विभाजन गरिदिएको स्वीकार गरेको नेता शर्माको दाबी छ । प्रचण्डको यस्तो कदम अक्षम्य अपराध रहेको उनको भनाइ छ । महासचिव शर्माले समाजवादी मोर्चा कमजोर बन्नुमा प्रचण्ड स्वयंको हात रहेको बताए ।

‘उहाँले जसरी हाम्रो पार्टी र नेतृत्वसँग जुन व्यवहार गर्नुभयो । त्यसले गर्दा हाम्रो दुरी बनेको हो । प्रचण्डजीले यो मोर्चालाई कमजोर बनाएको हो । प्रचण्डजीले गर्दा हामी यो मोर्चाबाट अलगिएको हो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्