काठमाडौं, ३ माघ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि सुरु हुँदैछ । त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलमा ८ वटा विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् ।
आज पत्रकार सम्मेलन गरी नेविसंघले ९ दिनसम्म चल्ने टि–२० क्रिकेट प्रतियोगिताले खेलकुदको भावना जगाउनेमात्रै नभएर जलवायु परिवर्तनको महत्त्वपूर्ण मुद्दालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।
नेविसंघका अनुुसार नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय टोलीहरूले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ रहेको नेविसंघले जनाएको छ ।
विजयी टोलीलाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गर्ने अवसरका लागि प्रसिद्ध एभरेस्ट भ्यू होटलको विशेष भ्रमणको अवसर प्रदान गरिने पनि बताइएको छ ।
नेपालबाट काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय र बङ्गलादेशबाट ढाका विश्वविद्यालयले प्रतियोगितामा सहभागी हुँदैछन् ।
खेलकुदलाई शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै युवाहरूलाई वातावरणका दूत बन्न प्रेरित गर्ने र जलवायु संकट समाधानमा योगदान पुर्याउने प्रतियोगिताको उद्देश्य रहेको छ । प्रतियोगिताका ब्रान्ड एम्बासडरको रूपमा निमा रिन्जी शेर्पा रहेका छन् । उनी संसारका सबै ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल चढ्ने सबैभन्दा कान्छो व्यक्ति हुन् ।