Logo

निकोलसलाई अदालत लगियो, आशिकाको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुँदै



काठमाडौं । भाइरल सामाजिक अभियन्ताको छवि बनाएका डा निकोलस भुसाललाई जिल्ला अदालत कास्कीमा लगिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको हिरासतको तस्बीर सार्वजनिक गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो ।

भुसालविरुद्ध बुधबार साइबर अपराधको कसुरमा मुद्दा दायर भएको थियो । बिहीबार बयान नसकिएको हुँदा उनी प्रहरीको हिरासतमा छन् । उनको बयान कास्की अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुने र धरौटीमा छाड्ने कि थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

गत पुस ७ गते उनले लामिछानेको तस्बीर सार्वजनिक गरेका थिए । सोही दिन साँझ पक्राउ परेका उनलाई पुस ८ मा अदालतमा म्याद थपका लागि लगिएको थियो । तर, अदालतले म्याद थप्न नमानेपछि हिरासतबाहिर नै राखेर अनुसन्धान भइरहेको थियो ।

यता अर्की स्वघोषित सामाजिक अभियन्ता आशिका तामाङको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि पनि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईको इजलासमा उनको निवेदनको पेशी तोकिएको छ ।

उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएपछि बन्दी प्रत्यक्षिकरणको निवेदन लिएर अदालत पुगेकी हुन् ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी मंगलबार पक्राउ परेकी थिईन् ।

गत पुस २५ गते तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत भएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्