काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्बीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा निकोलन भुसाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
साइबर अपराधको मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको हिरासतको तस्बीर सार्वजनिक गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो ।
भुसालविरुद्ध बुधबार साइबर अपराधको कसुरमा मुद्दा दायर भएको थियो । बिहीबार बयान नसकिएको हुँदा उनी प्रहरीको हिरासतमा थिए ।
गत पुस ७ गते उनले लामिछानेको तस्बीर सार्वजनिक गरेका थिए । सोही दिन साँझ पक्राउ परेका उनलाई पुस ८ मा अदालतमा म्याद थपका लागि लगिएको थियो । तर, अदालतले म्याद थप्न नमानेपछि हिरासतबाहिर नै राखेर अनुसन्धान भइरहेको थियो ।