काठमाडौं, माघ ५ । आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदै छ । दोस्रो संस्करणको यस विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन् । नेपाली महिला क्रिकेटमा पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले पहिलो खेल आज बङ्गलादेशसँग खेल्दैछ । आजको खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट शुरू हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका हुँदा समूह ‘सी’ न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।