Logo

ओली नेतृत्वको सरकारको आयु धेरै लामो छैनः माओवादी नेता शाही (भिडिओसहित)



काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार धेरै लामो समय नटिक्ने कुरामा प्रधानमन्त्री ओली स्वयं पनि प्रष्टै रहेको बताए । अब म सत्तामा धेरै दिन टिकिरहन सक्दिनँ भनेर प्रधानमन्त्री ओली आतङ्कित रहेको पनि उनले बताए ।

‘अब धेरै लामो छैन । अहिलेको प्रधानमन्त्री आफैं स्पष्ट हुनुहुन्छ, धेरै आतङ्कित हुनुहुन्छ । म धेरै दिन अब सत्तामा टिकिरहन सक्दिनँ भने उहाँलाई लागिरहेको छ, सार्वजनिक रुपमा पनि बोलिरहनु भएको छ,’– उनले भने ।

तरपनि माओवादी सरकार ढाल्ने र बनाउने पक्षमा नरहेको उनको भनाइ छ । उनले अहिले आफूहरु सांगठनिक शुद्धीकरणको एजेण्डासहित जनतामा जाने र आफूहरुले सरकरमा रहँदा गरेका कामहरु जानकारी गराउँदै जनताको कुरापनि सुन्ने नेता शाहीले बताए ।

‘माओवादी सरकार ढाल्ने र बनाउने पक्षमा चाहीँ छैन । माओवादी अहिले आफ्नो सांगठनिक शुद्धीकरण अभियानमा छ । आफ्नो संगठनलाई मजबुद बनाउने, जनताको बीचमा गएर आफ्नो विषयहरु राख्ने, अहिलेसम्म हामीले गरेका कामहरुको बारेमा जनतालाई जानकारी गराउने, जनताले हामीलाई के भन्छन्, के आलोचना गर्छन्, त्यो कुरा सुन्ने भनेर नै हामी जनतासँग माओवादी भन्ने छ महिने अभियानमा जाँदैछौं,’– उनले भने ।

वर्तमान सरकार कार्यसम्पादनको हिसाबले कमजोर भइसकेको, जनतामा निराशा बढ्दै गएको र अन्तर्राष्ट्रिय सम्बन्ध पनि कमजोर भइरहेको उनको भनाइ छ । ओली नेतृत्वको सरकार सत्तारुढ दलकै कारण ढल्ने उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्