Logo

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड



काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको उक्त रंगशालाको अनुगमन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको बताए ।

‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो । म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’– अध्यक्ष प्रचण्डले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस् । म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु । मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको थिएँ, त्यसको डिपिआर बनेर अहिले इआईए पनि भसकेको राष्ट्रिय खेलकुद परिषद्बाट जानकारी पाएको छु । यसलाई अघि बढाउन सरकारले बजेट व्यवस्था लगायतका काममा सहजीकरण गर्न आवश्यक छ ।’

आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको प्रचण्डले बताए । उनले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्