Logo

‘देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड तयार’



काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले आफूहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता शाहीले आफूहरुले पहिलादेखि नै देउवालाई प्रधानमन्त्री बनाउन चाहेको बताए । उनले एमालेको साथ छाडेर कांग्रेस सरकारबाट बाहिरिएको अवस्थामा देउवालाई माओवादीको समर्थन रहने सुनाए ।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी तयार हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘हामीले त पहिले नै भनेको नि । ठूलो राजनीतिक दलको नेता नै स्वतः प्रधानमन्त्री हुने व्यवस्था छ । त्यो व्यवस्थाअनुरुप शेरबहादुर देउवा प्रधानमन्त्री हुन् भन्ने हिसाबले नै हामी गएको हो नि त । आखिर उहाँहरु जान चाहनु भएन । हाम्रो सहमति भइसक्यो, हामीले जे सहमति गरेका छौं, कार्यान्वयन गर्छौं भनेर उहाँहरुले भन्नुभयो । त्यो त उहाँहरुको कुरा हो ।’

माओवादीले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नगर्ने उनले बताए । नेता शाहीले ओलीमा विश्वासघात, आपराधिक मानसिकता भएको साँचो कुरा नभन्ने र दुनियाँलाई बेकुफ बनाउने प्रवृत्ति रहेको बताए ।

‘केपीलाई कुनैपनि हालतमा माओवादीले अहिले विश्वास गर्ने अवस्था छैन । केपी भनेको विश्वासघाती, आपराधिक मानसिकता भएको, कहिले पनि साँचो कुरा नभन्ने, दुनियाँलाई बेकुफ बनाएर जाने केपीको जुन प्रवृत्ति छ, त्यसलाई समर्थन गर्न सकिँदैन । भोलि कुनैपनि बेला धोका दिनसक्छ भन्ने हाम्रो निष्कर्ष हो,’– उनले भने ।

नेता शाहीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै एमालेले प्रधानमन्त्री बनाउन खोजेको खण्डमा पनि आफूहरुलाई त्यो स्वीकार्य नहुने र ओलीसँग सहकार्य नहुने बताए । माओवादीले अहिले सरकार ढाल्न नचाहेको, आफूहरु सत्तामा रहँदा गरेको काम जनतालाई जानकारी गराउन र जनताको कुराहरु सुन्नेतर्फ आफूहरु लागेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्