Logo

कमल थापासँग एकीकरण नगर्ने लिङ्देनको उद्घोष



काठमाडौं, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु अहिले कसैसँग एकीकरणको पक्षमा नरहेको बताएका छन् । आज (शनिबार) हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका हुन् । उनले अहिले सिंगो राप्रपा एकढिक्का रहेको दाबी गरे ।

कमल थापा नेतृत्वको राप्रपा नेपालतर्फ लक्षित गर्दै उनले कोहीसँग एकीकरण हुन भन्ने बजारको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गरे । ‘राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । अहिले सिङ्गो एकीकृत राप्रपा छ,’– नेता लिङ्देनले भने ।

महाधिवेशनमा लिङ्देनसँग पराजय ब्यहोरेर पार्टी फुटाएका थापा पछिल्लो समय एकीकरणको पक्षमा उभिएका छन् । गत पुस २७ गते पृथ्वी जयन्तीमा समेत एकै ठाउँमा कार्यक्रम गर्न थापाले लिङ्देनसँग आग्रह गरेका थिए । तर, लिङ्देनले थापाको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।

आफू नेतृत्वको पार्टीले आयोजना गरेको चियापान सकेर थापा लिङ्देनले आयोजना गरेको चियापान कार्यक्रममा समेत पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्