Logo

विप्लवको सनसनीपूर्ण खुलासाः ओली नेतृत्वको सरकार ढाल्न काठमाडौंमै विदेशी चलखेल सुरु (भिडिओसहित)



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न विदेशी चलखेल सुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीको कामबाट उनका मित्रहरु र छिमेकी देशहरु खुसी नरहेको र काठमाडौंमा ठूला–ठूला मिटिङ चलिरहेको नेता विप्लवले बताए । ‘मैले आजमात्रै सुनिरहेको थिएँ–काठमाडौंमा ठूला–ठूला मिटिङ चलिरहेको छ रे । विदेशी साथीहरु पनि आएका छन् भन्ने सुनेको थिएँ । अहिले काठमाडौंमा ठूला–ठूला मिटिङ चलिरहेका छन् रे,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

नेपाली जनताले भोट हालेर जिताउने तर सरकार अरुले बनाउने र भत्काउनेजस्ता कार्यहरु आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । प्रधानमन्त्री कसलाई बनाउने, मन्त्री कसलाई बनाउने भन्ने कुरा विदेशी शक्तिकेन्द्रबाट हुन थाल्यो भने नेपाली जनताले अपमानित भएको महसुस गर्ने उनले बताए । चुनाव लडेका दलका नेताहरुले यो कुरालाई गम्भीर ढंगले सोच्न जरुरी रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार माओवादीले चाहेर नढल्ने उनको भनाइ छ । सरकार ढाल्ने र बचाउने भन्ने निर्णायक शक्ति कांग्रेस नै रहेको उनले बताए । कांग्रेसले निर्णय नबदलेसम्म ओली नेतृत्वको सरकार ढाल्न गाह्रो रहेको उनको भनाइ छ ।

साथै, उनले नेकपा (माओवादी केन्द्र) नेपाल समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपासहितको समाजवादी मोर्चा फेरि जाग्ने बताए । यही माघमा समाजवादी मोर्चाले काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरेको जानकारी गराउँदै उनले मोर्चा फेरि लयमा फर्किएको दाबी गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्