Logo

केपी ओली संघीयताको पक्षधर हुँदै होईनन्, यो सरकार रहनुको अर्थ छैनः माओवादी नेतृ केसी (भिडिओसहित)



काठमाडौं, ६ माघ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तारुढ दलभित्रको अन्तर्विरोधका कारण ढल्ने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी अहिले सरकारमा जान नचाहेको तर वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा रहेको बताएकी हुन् ।

साथै, माओवादीसहितका प्रतिपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउन आवस्यक देखिएको बताईन् । संविधानको स्पिरिटमा धेरै कानुन बनाउन बाँकी भएपनि सरकारले अध्यादेशबाट शासन गर्न खोजेर गलत गरिरहेको बताईन् ।

आफूहरुले अहिले पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघीयता बलियो बनाउने गरी अगाडि बढ्न बारम्बार भनिरहेको उनले सुनाईन् । नेतृ केसीले पार्टीभित्र प्रचण्डले नै संघीयता जन्माएको र उनैले बलियो बनाउन पर्यो भनेर बहस चलिरहेको बताईन् ।

‘प्रचण्डले नै संघीयता जन्माउने, प्रचण्डले नै संघीयता बलियो बनाउन पर्यो भनेर हाम्रो पार्टीभित्र भनिरहेका छौं । यसको मतलब प्रचण्डले गर्नुभएन भन्ने होईन । अझ गर्नुपर्यो भनेको हो । उहाँ सरकारमा हुँदाखेरी निजामति कर्मचारी ऐन आउनुपर्थ्यो, समायोजन हुनुपर्थ्यो भन्ने अपेक्षा हामीले राखेका थियौं,’– उनले भनिन् ।

साथै, प्रधानमन्त्री ओली संघीयताको पक्षधर नरहेको उनको आरोप छ । केपी ओलीबाट आफूहरुले संघीयता र संविधान बलियो हुन्छ भन्ने आफूहरुले अपेक्षा नै नगरेको उनले बताए । ‘केपी ओलीले गर्दैनन् भन्ने कुरा हामीलाई थाहा छ । संघीयताको पक्षधर केपी ओली हुँदै होईनन् । त्यसकारण केपी ओलीबाट हामीले अपेक्षा गरेकै छैनौं । यी सबै कारणले पनि यो सरकार रहनुको अर्थ छैन । संघीयता बलियो नहुने, संविधान बलियो नहुने, संविधान आफैंमा अप्ठ्यारोमा पर्ने किन चाहिएको छ यो सरकार ? यसले त अर्थै बुझेको छैन संघीयताको, मर्मै बुझेको छैन । प्रदेश सरकार एकदमै कामजोर छ । यस्तै खालको कमजोर संघीयतामा प्रदेश सरकार चल्नु, स्थानीय सरकार चल्नुको कुनै अर्थ छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्