Logo

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहदले माओवादीमा हलचल, तीन सदस्यीय छानबिन समिति गठन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीमा लागू भएको उमेरहदबारे देखिएको विवाद छानबिन गर्न माओवादी केन्द्रले समिति बनाएको छ ।

आइतबार माओवादीले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिको सदस्यमा रामेछापका धावा लामा र सिन्धुपाल्चोकका सालिकराम सापकोटा छन् । उनीहरुलाई एक महिनाको समय दिईएको माओवादीले जनाएको छ ।

‘पार्टीको निर्वाचन आयोगले मतदान प्रकृया सम्पन्न गरिसकेको भएता पनि उजुरीहरूको प्रकृति हेर्दा पार्टीको आन्तरिक समीक्षासंग जोडिएको देखिन्छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधि र अनुशासनको दृष्टिले केही गम्भीर प्रकृतिको देखिएकोले पाटीको आन्तरिक प्रयोजनको लागि ती उजुरीहरूको अध्ययन तथा छानबिन गरि बढीमा १ महिना अवधि भित्र पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्नका लागि पार्टी केन्द्रीय कार्यालयले अनुशासन आयोगका अध्यक्ष क. टंक राई संयोजक तथा आयोगका सदस्य द्वय क. धावा लामा र क. सालिकराम सापकोटा सदस्य रहने गरी ३ सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरिएको छ।’

गत पुस १३ गते क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउने भन्नेबारेमा मतदान भएको थियो । मतदानबाट ३२ वर्षे उमेरहद लाउनुपर्नेमा बहुमत आएको थियो । तर, नेतृत्वको लागि आकाँक्षा राखेका केही नेताले भने परिणाम स्वीकार गरेका छैनन् । क्रान्तिकारीको नयाँ नेतृत्वका लागि माघ १२ गते चुनाव हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्