काठमाडौं, ६ माघ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जोशी आज आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा उनको थुनछेक बहस भएको थियो । थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका छन् । जोशीलाई भद्रकालीस्थिति जिल्ला प्रहरी परिसरमा राखिने बताइएको छ ।
गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक रहेका जोशी कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीसमेत हुन् । कास्की जिल्ला अदालतले जोशीलाई ८८ लाख धरौटीमा छाडेको थियो । कास्कीबाट छुटेका जोशी केही ढिलाइ गरेर काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । उनीसँगै कास्कीबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट पनि धरौटीमा रिहा भइसकेका छन् ।