Logo

दुर्घटनामा एकै परिवारका तीन जना घाइते, बस चालक चौधरी प्रहरी नियन्त्रणमा



काठमाडौं, ६ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१८प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प ७९ नम्बरको सङ्कल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीनजना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा, उनकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेका छन् ।

घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घाइते किरण सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तीक पाठशाला स्कुलमा लेखापालको रुपमा कार्यरत थिए । उनी घर फर्किने क्रममा दुर्घटना परेका हुन् । बस चालक दिपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्