Logo

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा विभिन्न कार्यक्रम तथा सम्मेलन आयोजना



काठमाडौं, ७ माघ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा विभिन्न कार्यक्रम तथा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ को रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिन्छ ।

केन्द्रले सबैमा स्वच्छ ऊर्जाको सर्वसुलभ पहुँच पुऱ्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही विद्युत पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्र तथा घरधुरीमा पूर्ण विद्युतीकरणका लागि एकीकृत योजना तयार गरी विद्युत विस्तार कार्य गरिरहेको छ । खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तारको लागि विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलो लगायतका प्रविधिहरु प्रवर्द्धन गर्दै आएको छ ।

माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रमको आयोजना गरेको छ । माघ १३ गते सरोकारवालाहरुसँग अन्तर्क्रिया, १४ गते विकास साझेदारहरुसँगको बैठक र १५ गते उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन आयोजना गरिएको केन्द्रले जनाएको छ ।

तेस्रो दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुऱ्याउने स्वच्छ ऊर्जा रुपान्तरणलाई तिव्रता दिनको लागि सरोकारवालाहरुबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तर्क्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि विभिन्न प्रस्तुतिहरु तथा छलफल हुने बताइएको छ ।

सम्मेलनमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने बताइएको छ । केन्द्रले हालसम्म देशको करीब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुयाएको बताइएको छ । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ६ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्