Logo

शिक्षकको माग समेटेर शिक्षा विधेयक पारित हुन्छः प्रचण्ड



काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । गोरखा नगरपालिका–७ को नवज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याएपनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उनले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताए । संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिएपनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उनले
राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताए । विधेयक पारित गरेर शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन आवस्यक रहेको उनले बताए ।

आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उनले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए ।

तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताए । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भएपनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उनले
राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताए ।

गोरखा क्याम्पसको निरीक्षण

यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा–५ स्थित गोरखा क्याम्पसको निरीक्षण गरेका छन् । सो क्रममा उनले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए । उनले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्