काठमाडौं, ७ माघ । नेपाल बार एशोसिएशनले काठमाडौं जिल्ला अदालत बार एशोसिएसनलाई तत्काल नियमित निर्वाचन गराउन निर्देशन दिएको छ । केन्द्रीय बारले काठमाडौं जिल्ला बारलाई गत पुस १९ गते पत्र लेख्दै तत्काल मिति तोकी, निर्वाचन सम्पन्न गराई जानकारी गराउन निर्देशन दिएको हो ।
‘नियमित र आवधिक निर्वाचनबाट नै संस्थाको गरिमा, महत्व र विश्वास बढ्ने कुरा निश्चित छ । अतः काठमाडौं जिल्ला अदालत बारको कार्यसमितिको निर्वाचन अनिवार्य रूपमा तत्काल सम्पन्न गर्नका लागि तत्काल मिति तोकि निर्वाचन कार्य सम्पन्न गरी यस एशोसिएशनलाई जानकारी गराई विधानको पालना गर्नुहुन अनुरोध गरिन्छ,’– महासचिव अञ्जिता खनालद्वारा जारी पत्रमा भनिएको छ ।
काठमाडौं जिल्ला बारका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी. विमल) र सचिव उज्वलराम श्रेष्ठ निर्वाचन नगराउने पक्षमा रहेको बुझिएको छ । तर, उपाध्यक्ष पुरुषोत्तम अधिकारी र सहसचिव अञ्जु रेग्मी अर्यालले भने गत असोज ३० गते नै नियमित निर्वाचनको माग गर्दै केन्द्रीय बारलाई पत्र लेखेका थिए । काठमाडौं जिल्ला बारको हाल बहाल रहेको कार्यसमितिको निर्वाचन गत २०७९ असार ३२ गते सम्पन्न भएको थियो ।
नेपाल बार एशोसिएशनको विधान, २०४८ (संशोधन सहित) को दफा २६ (१) बमोजिम एकाई कार्यसमितिको कार्यकाल २ वर्ष हुने व्यवस्था रहेको छ । गत साउनमै कार्यसमितिको कार्यकाल सकिएको भएपनि अझै निर्वाचनको मिति तोकिएको छैन ।
अध्यक्ष र सचिवले नियमित निर्वाचन गराउन नचाहेको भन्दै बहुमत केन्द्रीय सदस्यले गत मंसिर १५ गते निर्वाचन गराउने निर्णय गरेका थिए । तर, उक्त मितिमा निर्वाचन नभएको र हालसम्म निर्वाचनको मिति नतोकिएको बताइएको छ ।