Logo

ओली नेतृत्वको सरकार ढल्दा आफू मन्त्री बन्नेमा कांग्रेस नेता गिरी ढुक्क (भिडिओसहित)



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक गिरीले वर्तमान सरकार सोचेअनुरुप अगाडि बढ्न नसकेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधि सभाको पहिलो र दोस्रो दल मिलेर बनेको ऐतिहासिक सरकारले पनि सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् । वर्तमान सरकार भ्रष्टाचारको विरुद्धमा निर्मम भएर लाग्नुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने उनले बताए ।

‘मेरो दुःखेसो छ । जुन ढंगले सरकार जानुपर्थ्यो, पहिलो र दोस्रो पार्टीबीच ऐतिहासिक गठबन्धन भएकै हो । गठबन्धन पार्टीभित्रका चाहे एमाले हुन्, कांग्रेस भ्रष्टाचार भएको छ भने कसैले छाड्न हुँदैन । मुलुक बन्नुपर्यो, सुशासन हुनुपर्यो, भ्रष्टाचार वास्तविक निर्मूल हुनुपर्यो,’– उनले भने ।

वर्तमान सरकारले पनि जनताको समस्या समाधान गर्न नसकेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्दा फाइदा हुने भएपनि यही सरकार चलोस् भन्ने चाहेको उनले सुनाए । नेता गिरीले दुई ठूला पार्टी मिलेर बनेको सरकार नटिक्दा जनतामा झन निराशा आउने बताए ।

‘अहिले जुन चलिराखेको छ नि, यो चल्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म । मलाई त फाइदा हुन्थ्यो नि भोलि मन्त्री हुनसक्छु भन्ने चान्स त रहन्थ्यो नि । तर त्यो लोभ गर्न मान्छे होईन म । यो सरकार ढल्न हुँदैन भन्ने सोच राख्ने मान्छे हो । दुई ठूला पार्टी मिलेर बनेको सरकार पनि टिकेन भने जनतामा झन निराशा आउँछ । तर, अब केही प्लान भएर ढल्छ भने त के गर्न सकिन्छ र ? जनता समस्यामा छन्, विकास निर्माणले अलिकति गति त लिएको छ तर जति गति लिनुपर्ने थियो भएन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्