काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।
मंगलबार बसेको लेखा समितिको बैठकमा सभापति पोखरेलको श्रीमती सहकारी ठगीमा र स्वकीय सचिव ठगीमा मुछिएको भन्दै उनले राजीनामा मागेका हुन् । “सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ,” उनले भने, “नैतिक प्रश्न जोडिएपछि मार्गप्रशस्त गर्दिनुस् ।”
उनले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोपसमेत लगाए । ‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाया जस्तो भयो । यस्तो बनाउँन हुदैन । हामीसँग ९५ उजुरी छन् । छलफल गरेर अगाडि जानुपर्नेमा डन्पिङ गरेर राखिएको छ उनले भने’।
लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला सहकारी ठगीमा मुछिएकी छन् । मोरङको उमा गौरी सहकारी ठगीमा अञ्जला मुछिएकी हुन् । उनी हाल धरौटीमा रिहा भएकी थिईन् । यता पोखरेलका स्वकीय सचिव रहेका अनिल पोखरेल पन ठगीमा मुछिएका छन् । उनी स्वकीय सचिवबाट निलम्बित भइसकेका छन् ।