काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नटिक्ने बताएका छन् । वर्तमान सरकार प्राकृतिक, स्वभाविक र पारदर्शी नरहेको भन्दै प्रचण्डले यो धेरै दिन नटिक्ने दावी गरेका हुन् ।
चितवनमा आज (मंगलबार) सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले गरेको कामहरु पनि उल्टोपाल्टो रहेको र अध्यादेश ल्याएर लाजमर्दो गरी शासन गर्न खोजेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु भविष्यवाणी गर्दै भने, ‘सरकार धेरै जान्छ भन्ने लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु–यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन ।’
प्रचण्डसँगै रहेका नेपाली कांग्रेसका नेताद्वय डा.शशांक कोइराला र चन्द्रकान्त भण्डारीले पनि सरकारको आयु लामो नरहेको संकेत गरे । प्रचण्डको सरकारको आयु भविष्यवाणी गरिरहँदा नेताद्वय कोइराला र भण्डारी मुस्कुराइरहेका थिए ।
सञ्चारकर्मीहरुसित नेता कोइरालाले पनि संक्षिप्त कुराकानी गरे । उनले राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वभाविक मान्नुपर्ने प्रतिक्रिया दिए । दुई ठूला दल मिलेर स्थायी सरकार आफूहरुको चाहना भएपनि सोचेझैं हुन नसकेको उनको भनाइ थियो ।
साथै, वर्तमान सरकारले कुन विषयमा संविधान संशोधन गर्ने भनेको हो ? त्यो नै प्रष्ट नभएको उनले बताए । संविधान संशोधनका लागि सरकारको स्पष्ट धारणा आवस्यक रहेको उनको भनाइ छ ।