काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कारबाही गरेको हो ।
जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाटै अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो ।
क्यान स्रोतका अनुसार देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको छ । स्रोतका अनुसार क्यानको आचारसंहिताको २।७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगेको हो ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।
सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।
सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।
क्यानले कारबाही गर्ने जानकारी पाएपछि सन्दीपले अर्को स्टाटस लेखेका थिए । उनले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै स्टाटस लेखेका थिए ।