काठमाडौं, ९ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजीनामा नदिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र केही नेताहरुले चाहँदैमा ऋषिकेशले लेखासमितिको सभापतिबाट राजीनामा दिन आवस्यक नरहेको बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अर्र्जन नरसिंह केसीले समेत ऋषिकेशको राजीनामा मागेको प्रसंग उल्लेख गर्दै उनले उनको अर्जुनदृष्टि फेल खाएको टिप्पणी गरे ।
‘महाभारतका अर्जुनको अर्जुनदृष्टिको कुरा गर्नुभएको हो भने विचरणीय कुरा हो । अर्जुननरसिंह केसीको अर्जुनदृष्टि चाहीँ मिलेन । फेल खायो, त्यति अनुभवी मान्छेले मनमा लाग्यो अनि राजीनामा कि नियुक्ति भन्ने विषय होईन नि त,’– उनले भने ।
साथै, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले देशद्रोहीको संज्ञा दिए । प्रचण्डले चाहँदैमा प्रधानमन्त्री केपी शर्मा ओली र सार्वजनिक लेखा समितिका ऋषिकेशले राजीनामा नदिने उनले बताए । प्रचण्ड देशद्रोही भएकाले देश नै छाडेर जानुपर्ने आफ्नो माग रहेपनि चाहँदैमा त्यो पूरा नहुने उनले बताए । प्रचण्डको चाहना बमोजिम पनि प्रधानमन्त्री र सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा नदिने नेता थापाको भनाइ छ ।
‘म प्रचण्डले देशद्रोही काम गर्नुभएको छ । उहाँले देश छोडेर जानुपर्छ भन्छु । मैले भन्नेवित्तिकै उहाँले देश छोडेर जानुहुन्छ त ? उहाँ देशद्रोही, भारतमा बसेर नेपालका विरुद्ध, युद्द, सुरुङ, उत्पात, नरसंहार, रगतको आहाल सिर्जना गरेर त्यसैमा टेकेर सिंहदरबार आउनुभयो । उहाँ राजनीति गर्न योग्य हुनुहुन्न । अपराधी हुनुहुन्छ भनेर मैले भने । अनि त्यही कुरा हुन्छ त ?’ प्रश्न गर्दै उनले भने ।