Logo

लेखा समितिमा सत्तारुढ दलका सांसदको प्रष्टोक्तिः कमिशनको खेलो र नीतिगत भ्रष्टाचार छ !



काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले अध्यादेशमार्फत कानुन संशोधन गरिनु गलत रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई अध्यादेश ल्याउने अधिकार छ भन्दैमा संसद् छलेर कानुन संशोधन गर्नु उपयुक्त नहुने बताएका हुन् । सरकारले अध्यादेशमार्फत कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन संशोधन गरी २० प्रतिशतभन्दा बढी मुनाफा लिन सकिने व्यवस्था गरेको थियो ।

सोही ऐन संशोधनको फाइदा उठाउँदै उद्योगी व्यवसायीहरुले मूल्य वृद्धि गरिरहेका छन् । आज लेखा समितिमा पछिल्लो समय निर्माण सामाग्री सिमेन्टको मूल्य वृद्धिको बारे छलफल भएको थियो । सो क्रममा नेता गौतमले भने,‘कालाबजारी ऐनमा हामी यति लिब्रल हुनुपर्ने आवस्यकता थियो कि थिएन ? त्यो विषय गम्भीर छ । सरकारसँग अध्यादेश ल्याउने अधिकार छ, ल्यायो । नल्याएर चाँडै सदन बोलाएर छलफल गरेको भए राम्रो हुन्थ्यो । त्यसमा विलम्ब भयो । गठबन्धन दलको हैसियतले, नेपाली कांग्रेसको सांसदको हैसियतले मैले त्यतिकुरा बोल्नुपर्ने हुन्छ । मेरो पनि यसमा विमति रह्यो । तर, हामीले संविधान नै यस्तो बताएका छौं । यसमा समाधान खोज्नुपर्छ ।’

सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँग उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएका छन् । सरकारले अनुत्पादक ठाउँमा लगानी गरेर देश ध्वस्त पारेको पनि नेता गौतमले बताए । नेता गौतमले कमिशनको खेलमा परेर सरकारको नेतृत्वमा रहेकाहरुले अनुत्पादक क्षेत्रमा खर्च गरेको आरोप लगाए ।

‘हामी पनि अनुत्पादक ठाउँहरुमा लगानी गरिरहेका छौं । त्यसले गर्दा मुलुक ध्वस्त भएको छ । उत्पादन गर्ने ठाउँमा लगानी गर्दैन मुलुक, उत्पादन नहुने ठाउँमा खर्च गर्न तछाड र मछाड त । कमिशनको खेलो छ, नीतिगत भ्रष्टाचार छ । त्यसलाई हामीले रोक्नुपर्छ,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्