काठमाडौं, ९ माघ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी ऐन संशोधन गर्न बनेको विधेयक केही दिनभित्रै संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा पेश हुने बताएका छन् । आज (बुधबार) २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरीका जवानदेखि अधिकृतसम्मका दर्जाहरुले उठाउँदै आएका आवाजलाई सम्बोधन गरेर विधेयक तयार गरिएको बताए । उनले जवानहरुले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमै अवकाश जान पाउने प्रवधानलाई ऐनमा समावेश गरिएको बताए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूलगायत सबैको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकको रुपमा संसद्मा दर्ता गर्ने सबै तयारी भई हामीले अन्तिम रुप दिइसकेका छौं । हामी केहीदिनमा सम्बन्धित विधेयकलाई संघीय संसद्मा दर्ता गर्नेछौं । अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको छ । लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिने छ,’– उनले भने ।
लागूऔषध, सडक दुर्घटना र आत्महत्या नियन्त्रणको विषयलाई सुरक्षा निकायहरुले विशेष प्राथमिकता र गम्भीरताका साथ लिनुपर्ने उनले बताए । सशस्त्र प्रहरी देश र जनताको सेवामा निरन्तर खटिएको र आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको गृहमन्त्री लेखकले बताए । मुलुकको शान्ति र स्थिरताका लागि सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले बताए । गृहमन्त्री लेखकले सीमा सुरक्षा, अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापनको क्रममा सशस्त्र प्रहरी बलले देखाएको दृढता प्रसंशनीय रहेको बताए ।