काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार बिहान भएको भेटमा भारतमा रहेका नेपालीहरूका समस्या र समाधानका विषयमा छलफल भएको बानियाँको सचिवालयले जनाएको छ ।
भेटवार्तामा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरूको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या बारेमा नेता बानियाँले चर्चा गर्दै समस्या समाधान लागि पहल गर्न राजदूत डा. शर्मालाई आग्रह गरेका थिए ।
यस्तै, पूर्वमन्त्री बानियाँले भारतमा कार्यरत नेपाली मजदुर तथा विभिन्न व्यवसाय गरी बसेका नेपालीहरूलाई स्वास्थ्य बीमाको प्रक्रियामा सामेल गराउने सम्बन्धमा पनि पहल गर्न आग्रह गरेका थिए ।
भेटवार्तामा राजदूत डा. शर्माले नेपाल र भारतबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको बताएका थिए । उनले समस्यामा परेका नेपालीलाई राजदूतावासले भारत सरकारसँग आवश्यक समन्वय गरेर सहजिकरण गरिरहेको जानकारी गराएका थिए ।
छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विभिन्न अस्पतालमा उपचाररत विरामीका आफन्त तथा व्यवसायीहरूको सहभागिता थियो ।