काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा तिर्सना हमालले उम्मेदवारी दिएकी छन् । लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । नेतृत्व चयनका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । अब अखिल क्रान्तिकारीको नेतृत्व ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुले हाँक्नेछन् ।
महासचिव पदकी उम्मेदवार हमालले आफू अखिल क्रान्तिकारीको २२ वर्षको इतिहासमा पहिलो महिला उम्मेदवार रहेको बताएकी छन् । उनले अझैसम्म समाजमा पुरुषवादी चिन्तन हावी रहेको र महिलालाई कार्यकारी पद नदिइने गरेको बताएकी छन् । उनले अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला महासचिवमा आफूलाई सहयोग गर्न अग्रज नेता, सहकर्मी साथीहरु र प्रतिनिधिहरुलाई आग्रह गरेकी छन् ।
उनले आफ्नो एजेण्डा निम्न बुँदागत रुपमा प्रस्तुत गरेकी छन्ः
- शैक्षिक, राजनीतिक, सामाजिक विकृति रोक्न सक्ने सशक्त संगठन निर्माण गर्न ।
- समग्र शिक्षाको गुणस्तर विकास गराउन ।
- विद्यार्थीलाई उर्जाशील वैचारिक शक्तिमा रुपान्तरण गर्न ।
- कार्यकारी भूमिकामा महिला सक्दैनन् भन्ने भाष्य परिवर्तन गर्न ।
- २२ वर्षे इतिहासमा पहिलो महिला महासचिव स्थापित गर्न ।
- देशभित्र नै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न ।
- डिजिटल युगसँग विद्यार्थी संगठनको भूमिका जोड्न ।