काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको दाबी गरेका छन् ।
आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको दाबी गरे ।
‘यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार धेरै अगाडि नजानेमा ढुक्क देखिएका प्रचण्डले कांग्रेससँग सहकार्य हुनसक्ने संकेत गरेका छन् । ‘नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शशांकजीहरुसँग भेट हुँदा के कुरा भएको थियो, त्यो हुनसक्छ,’-प्रचण्डले भने ।