Logo

धरानमा अहिले खानेपानीको समस्या छैन, आगामी ५० वर्षको लागि सोचेर संघीय सरकारसँग योजना माग गरेको हुँः हर्क साम्पाङ (भिडिओसहित)



काठमाडौं, १० माघ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले बुझाउनुपर्ने पत्र बुझाउँदा पनि धरानको खानेपानी समस्या समाधान नभएपछि रित्तो गाग्री लिएर काठमाडौं आएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै आफूले काम नगरी बस्ने केन्द्र सरकारलाई झक्झक्याउन काठमाडौं आएको बताए । मेयर साम्पाङले अहिले धराने जनतालाई श्रमदानबाट आएको पानीले पुगिरहेको बताए । उनले आफूले आगामी ५० वर्षको लागि सोचेर खानेपानीको योजना माग गरेको बताए ।

‘धरानका जनतालाई अहिले पानीको समस्या छैन । श्रमदानबाट ल्याएको पानीले पुगिरहेको छ । केन्द्र सरकारले पनि काम गरोस् भनेर हो । आगामी वर्षहरुका लागि, मेरो कार्यकाल सकिएपछि पनि मैले ५० वर्षका लागि सोच्नुपर्छ । अहिले फाउन्डेन बनाउने हो । त्यसकारण केन्द्र सरकारले पनि काम गरोस् भनेर आएको, उहाँहरुलाई ध्यानाकार्षण गराएको हो,’– उनले भने ।

यसपटक आफू खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएको मेयर साम्पाङले बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धरानमा खानेपानीको बजेट विनियोजन गरिने आश्वासन दिएको बताए । मेयर साम्पाङले आफू नेपालमा सबैभन्दा धेरै काम गर्ने र श्रम संस्कृतिबाट नै धेरै काम गरेर विश्व रेकर्ड राख्ने व्यक्ति रहेको दाबी गरे ।

धराने जनताले संघीय सरकारलाई १२४ वर्षदेखि कर तिरिरहेको बताउँदै उनले अब खानेपानी समस्या समाधानका लागि त्यो कर फिर्ता गर्नुपर्ने बताए । आफूले कुनै नेताहरुको चाकडी नगरेको उनले बताए । आफूले चाकडी, कमिसन र भ्रष्टाचार कहिले पनि नगरेको दाबी गरे । धराने जनताको पिर व्याथा बोकेर आफू आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिएकोप्रति उनले आक्रोश व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्