काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सरकारको जनविरोधी काम कारबाहीविरुद्ध सडक र सदनबाट प्रतिरोध गरिने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले अध्यादेशमार्फत संशोधन गरेको कानुन जनमैत्री नभएर विचौलियामैत्री रहेको बताए । विचौलियामैत्री अध्यादेशको संसद्बाटै सशक्त प्रतिवाद गरिने र आवस्यक परे सडकबाट प्रतिरोध गर्ने उनको चेतावनी छ ।
सदनमा माओवादीको पहिलो मुद्दा अलोकतान्त्रिक र निरङ्कुश ढंगले ल्याइएको अध्यादेश खारेजी हुने उनले बताए । दोस्रो मुद्दा माघसम्म एउटा पनि बहुवर्षीय ठेक्का स्वीकृति नभएको सम्बन्धमा उठाइने उनले बताए । अहिले भौतिक संरचना, सार्वजनिक संरचना र राज्यले प्रदान गर्ने सेवा प्राप्त गर्न जनताले घुस दिनुपरिरहेको नेता दाहालको दाबी छ ।
भ्रष्टाचार नियन्त्रण आफूहरुको अर्का प्रमुख मुद्दा हुनेपनि नेता दाहालले बताए । भ्रष्टाचारजन्य गतिविधिमा मन्त्रिपरिषद्, मन्त्रीहरु, प्रधानमन्त्री पनि संस्थागत ढंगले जोडिएको उनको आरोप छ । माओवादीले संसद्मार्फत रुपमा भण्डाफोर गरिने उनले बताए ।