काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि अनुसन्धान हुने भएको छ । बलात्कारको आरोप लागेका महरको मुद्दा तामेलीमा राख्ने निर्णय उच्च अदालत पाटनले बदर गरेसँगै उनीमाथि अनुसन्धान हुने भएको हो ।
तामेलीमा राख्ने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो।
महरविरुद्ध ती युवतीले फरक फरक समयमा तीन वटा मुद्दा हालेकी थिईन् । तर, गत असार ११ गते दायर भएको रिट मा भने परमादेश जारी गर्दै अनुसन्धान गर्ने आदेश भएको हो । बाँकी दुईवटा रिट भने खारेज भएका छन् ।
२०८० जेठमा आफू महरबाट बलात्कृत भएको भन्दै पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपनि मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडित सो निर्णयविरुद्ध उच्च अदालतमा गएकी हुन् ।
बझाङका महरमाथि बझाङकै एक एमाले कार्यकर्तासमेत रहेकी युवतीले बलात्कारको आरोप लगाउँदै आएकी छन् । केही महिनाअघि महर र ती युवतीबीचको गोप्य सम्वादसमेत बाहिरिएको थियो । उक्त अश्लिल सम्वाद बाहिरिएपछि महर एमालेबाट निलम्बित भएका थिए ।
पार्टीबाट निलम्बन भएको केही समयमा नै भएको बझाङ प्रदेश सभाको उपनिर्वाचनलाई ध्यान दिँदै उनको कारबाही फुकुवा भएको थियो । महर एमालेको भातृ संगठन अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन् । गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका उनी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भानुभक्त जोशीसँग पराजित भएका थिए ।
यसैबीच महरमाथि बलात्कारको आरोप लगाउँदै आएकी युवति भने बुधबारबाट थुनामा छिन् । साइबर अपराध कसुरमा उनी बुधबार पक्राउ परेकी हुन् ।
आपराधिक लाभ र विद्युतिय अपराधको कसुरमा पक्राउ परेर छुटेकी उनी फेरि साइवर अपराधको कसुरमा पक्राउ परेकी हुन् । माइतीघर मण्डलबाट पक्राउ परेकी उनीमाथि ४ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।