Logo

केपी ओलीले बजेट दुरुपयोग गर्नुभएको छ, छानविन हुनुपर्छः भीम रावल



काठमाडौं, १० माघ । नागरिक जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् । ओरिपरी सुकुम्बासी बस्ती रहेको र बीचमा लगेर ओलीले बेकामे भ्यू–टावर बनेको बताए ।

साथै, प्रधानमन्त्री ओलीले अध्यादेशबाट कानुन संशोधन गरेर निरङ्कुशताको भद्दारुप प्रदर्शन गरेको आरोप लगाए । अध्यादेशबाट कानुन संशोधन गरेर २० प्रतिशतभन्दा बढी नाफा लिन नमिल्ने कानुनमा जति नाफा लिएपनि हुनेगरी संशोधन गरेरको बताए । प्रधानमन्त्री ओलीले मार्क्सवाद चपाएर खाइसकेको दाबी गरे । ‘मार्क्सवाद, लेलिनवाद त उहाँले चपाएर थुकिसक्नुभयो,’– उनले भने ।

साथै, आफूमाथि राजावादीको आरोप लाग्ने भएपछि प्रधानमन्त्री ओलीले उल्टै ‘भीम रावल राजावादी भयो’ भनेर प्रचार गरेको दाबी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गत निर्वाचनमा साँठगाँठ गरेको नबिर्सन उनले चेतावनी दिए । एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै रावलले अब बामालेहरुले सुदूरपश्चिमबाट जित्ने सपना नदेखे पनि हुने बताए । एमालेको चुनाव चिन्हमा अहिले ग्रहण लागेर कालो भइसकेको टिप्पणी गरे । ओलीको मिसन ०८४ अब पतन ०८४ हुने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्