काठमाडौं, ११ माघ । नेकपा (एमाले) ले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई एकीकरण गरेर पार्टीमा नल्याउने भएको छ । वामदेव एमालेको पूर्व उपाध्यक्षसमेत हुन् । नेकपा विभाजनपछि एकता अभियान सञ्चालन गरेका वामदेव पछिल्लो समयमा एमालेमा फर्किन कसरत गरिरहेका छन् । माधव नेपालल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न लागेका वामदेव एमालेले ललिपप देखाएपछि यतै भुलिएका थिए । तर, अन्तिम समयमा आएर एमालेले एकता नगर्ने, पार्टीमा समाहित हुने भए ढोका खुल्ला रहेको सन्देश दिएको छ ।
वामदेव हिजो (बिहीबार) औपचारिक रुपमा एमालेमा फर्किने कार्यक्रम राखिएको थियो । तर, एमालेले चाहना नदेखाएपछि उनको त्यो रहर पूरा भएन । एमाले उपमहासचिव एवं सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ वामदेवसँग एकता गर्नुको कुनै औचित्य र आवस्यकता नरहेको बताउँछन् ।
वामदेवको साथमा कोही पनि नरहेको बताउँदै गुरुङले एकता नभएर समाहित हुँदा आफूहरु जहिले पनि खुला रहेको बताए । वामदेवले एमालेमा समाहित हुने चाहना व्यक्त गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफल अगाडि बढाएको पनि उनले बताए । वामदेवलाई कुनै पद दिने वा अरु कुनै शर्तमा पार्टीमा ल्याउन नसकिने उपमहासचिव गुरुङको भनाइ छ । उनले वामदेवलाई खरायो र एमालेलाई हात्तीको संज्ञा दिए । यतिधेरै भिन्नतामा एकता भन्ने कुरा नै नआउने उनको भनाइ छ ।
यता एकीकृत समाजवादीले तेस्रो बरियतासहित वरिष्ठ नेताको पद दिने तयारी गरेको थियो । वामदेवले एकीकृत समाजवादीसँग एकताका लागि लामो छलफल चलाएर अन्तिम समयमा एमालेतिरै जाने निर्णय सुनाएका थिए । एकीकृत समाजवादीसँग एकताको ढोका बन्द गराएर एमालेले वामदेवलाई पुनः विचल्ली पारेको छ । यता वामदेवको नेकपा एकता अभियान पनि विभाजित भएको छ । चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट विभाजित भएर एकताको लागि माओवादीसँग छलफल सुरु गरेको छ ।
तत्कालीन उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्जमहेन्द्र अर्याल, उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवं कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडिसकेका छन् । एमाले मोहका कारण वामदेवले आफ्नै पार्टी पनि छिन्नभिन्न बनाएका छन् भने एकीकृत समाजवादीमा फर्किने ढोका पनि बन्द भएको छ ।