Logo

द्वन्द्वकालमा त नसकेको माओवादीले अब मलाई रोक्न सक्दैनः मोहन बस्नेत (भिडिओसहित)



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा विकास र समृद्धिको लागि आफूले भन्दा बढी काम गरेको कसैले प्रमाणित गरेको खण्डमा राजनीति छाडिदिने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सिन्धुपाल्चोकमा विकास र समृद्धिका लागि आफूले जति काम अरु कसैले नगरेको दाबी गरेका हुन् ।

नेता बस्नेतले सिन्धुपाल्चोकमा केही समय अघि दिएको अभिव्यक्तिबारे पनि प्रष्ट पारेका छन् । पुल उद्घाटन गर्न जाने क्रममा माओवादीका नेता तथा कार्यकर्ताहरुले रूख ढालेर बाटो अवरोध गरेपछि आफूले उक्त अभिव्यक्ति दिएको नेता बस्नेतले बताए । ‘हामी पुल उद्घाटन गर्ने जाने कार्यक्रममा उहाँहरुले रुख ढालेर बाटो ब्लक गर्नुभयो । हामी अर्कोबाटो गएर त्यहाँ कार्यक्रम गर्यौं । रूख ढाल्ने कुरा आफैं सार्वजनिक मुद्दा लाग्ने कुरा हो । रूख ढालेर सार्वजनिक बाटो बन्द गर्ने कुरा अपराध हो कि होईन ?’ प्रश्न गर्दै उनले भने ।

नेता बस्नेतले उक्त कार्यक्रममा सिन्धुपाल्चोकका माओवादी नेताद्वय अग्नि सापकोटा र माधव सापकोटाको विरोध गरेका थिए । उनले माओवादी नेताहरुको गर्धन रुख मुनि पारिदिने चेतावनीसहितको अभिव्यक्ति दिइएका थिए । आफूलाई सिन्धुपाल्चोकमा कसैले पनि रोक्न र छेक्न नसक्ने उनले बताए । आफूलाई माओवादीले द्वन्द्व कालमा समेत रोक्न नसकेको दाबी गर्दै उनले अब केही गरेपनि नसक्ने दाबी गरे ।

‘उनीहरुले रूख ढालेर हाम्रो कार्यक्रमलाई बन्द गरेपछि यो विषय उठान भएको हो । कसका बाउले रोक्छ भनेको ? हामी हिँडेर, गुडेर, उडेर हिँड्ने मान्छेलाई कसले रोक्छ । रोक्न कोशिस गरेको हो । द्वन्द्वमा त सकेन, अहिले के को गर्छ । हामीले तह लगाएर राखेका छौं । मोहनबहादुर बस्नेतलाई रोक्ने कसैको हैसियत छैन,’– उनले भने ।

नेता बस्नेतले माओवादीका अग्नि सापकोटा र माधव सापकोटासँग एक्लै चुनाव जित्न सक्ने हैसियत नरहेको बताए । दुवै माओवादी नेताहरुले गठबन्धनमा रहेर चुनाव जितेको उनले बताए । ‘अग्नि सापकोटाले जित्नुभयो, गठबन्धनमा जित्नुभयो । माधव सापकोटालाई गठबन्धनमा हामीले जिताइदियौं,’– नेता बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्