Logo

अख्तियारलाई हर्क साम्पाङको जवाफ- वाइडबडी र एनसेलको भ्रष्टाचार छानबिन गर्नू, श्रमदान अभियानको खेदो नखन्नू !



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको जवाफ दिएका छन् । उनले उट्पाट्याङ भाषा प्रयोग गर्दै आज अख्तियारमा जवाफ पठाएका हुन् । उक्त जवाफ साम्पाङ स्वयं फेसबुकमा सार्वजनिक गरेका छन् ।

श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै हर्कविरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता केलाइरहेको छ । आफूले अख्तियारलाई पठाएको जवाफ हर्कले फेसबुकमा राखेका छन् ।

‘विहान उठ्ने वित्तिकै टोइलेट जानु पर्छ टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला केही छिन पछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाए पछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ । फोहोर लुगा लगाएर भएन धुनै परो । लुगा धुन नि पनि नभैनहुने ! स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने who ले’ उनले जवाफमा भनेका छन् ।

साम्पाङले आफ्नो जवाफमा आफूविरुद्ध उजुरी हाल्नेले धरानमा खानेपानी समस्या समाधानका लागि कतिवटा पाइप किनेर दियो भन्दै आक्रोशपूर्ण प्रश्न गरेका छन् । ‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्‍यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन् । उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् ।

‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्