काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । बिहान ९ बजेबाट देशैभर मतदान जारी रहेको हो ।
२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान भएको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ । आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ ।
३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
उपत्यका विशेष प्रदेशको बाल्मिकी क्याम्पस र बागमती प्रदेशको सानोठिमी क्याम्पसमा हुनेछ। अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ।
अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि मनोननयन दर्ता गरेका ६ जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता गरेका छन्।
अब उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राईबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ।
यसअघि योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका थिए। उनीहरू दुवैले सापकोटालाई समर्थन गर्नेछन् । नेतृत्वका लागि संस्थापन र उपमहासचिव जनार्दन शर्माको पक्षका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले विजय सापकोटालाई उम्मेदवार बनाएका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेशकुमार यादव र उपमहासचिव जनार्दन शर्मा पक्षले हेमन्त राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षका अर्का उम्मेदवार सुदीन पौडेल उपमहासचिव वर्षमान पुननिकट हुन् ।
केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत पदमा १३५ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।