काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चौतर्फी प्रहार हुन थालेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले एमाले र त्यसको नेतृत्वमाथि भइरहेको प्रहारप्रति युवाले सचेत हुनुपर्ने बताए ।
‘हामीले नराम्रो काम गरेको हुनाले हामीमाथि हमला भएको हो ? कदापि होइन् । अस्थिरता मच्चाउन खोज्ने प्रवृत्तिका विरुद्धमा अरु कोही उभिएनन् । एमालेमात्र उभियो । त्यसैले हामीमाथि हमला भइरहेको छ । एकल जातिय र भाषिक पहिचानका मुद्दा उठाएर समाज भड्काउने काम भइरहँदा हामीले भन्यो एकल जातिय पचिनाको मुद्दा किमार्थ स्वीकार्य हुन सक्दैन भनेर हामीले भन्यो । जसको नेतृत्व केपी ओलीले गर्नुभयो । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ’ उनले भने ।
महासचिव पोख्रेलले संविधान जारी गर्न नदिन नेपालमा भूराजनीतिक गतिविधि भएकोतर्फ स्मरण गर्दै भारतीय नाकाबन्दीपनि सम्झिए । भारतले लगाएको नाकाबन्दीलाई अरु दलले सीमाको अवरोध भनेको तर, तत्कालीन प्रधानमन्त्री अोलीले डटेर नाकाबन्दी सामना गरेको स्मरण गरे । उनले संविधान जारी हुने बेला केही कुरा सम्झाउन नेपाल आएका भारतीय तत्कालीन विदेशमन्त्रीलाई ओलीले नेपालको समस्या नेपाली नेताले नै समाधान गर्ने जवाफ दिएर फर्काएको पनि सुनाए ।
‘नेपालमा संविधान सभाबाट संविधान बनाउन नदिन अनेक खेल भयो । एउटा संविधान सभा फेल भयो । जे भएपनि अर्को संविधान सभाले संविधान बनायो । संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । तर, हाम्रो अध्यक्ष केपी ओलीले भन्नु भयो संविधान सभाले नै संविधान बनाउने हो । कुनै कुरा भए नेपालका राजनीतिक दलले समाधान गर्नेछन् भनेर भारतीय विदेश मन्त्रीलाई भन्नु भयो । त्यो कुराको सच्चाई आज पनि हेक्का होला सबैलाई ’ उनले भने ‘त्यही संविधान जारी गरेको निहुँमा नाकाबन्दी लगाईयो । अरु दलले नाकाबन्दी भन्न सकेनन् । सीमाको अवरोध भने । तर, ओलीले यो नाकाबन्दी नै हो भन्नुभयो । ओलीले दह्वो अडान लिएर भारतीय नाकाबन्दीको सामना गर्नुभयो । भारतीय नाकाबन्दी विरुद्ध आलीे डटेर लाग्नुभयो’ ।