काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीपंक्ति एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष नेता र सरकारमा सामेल मन्त्रीहरुको छलफलमा संसद्को दिउँदे अधिवेशनमा एक ढिकका भएर अघि बढ्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘सरकारले गरेका काम कारबाही र संसद्को अवस्थाको बारेमा छलफल भयो । सदनमा विचाराधीन विधेयक र अध्यादेशहरु तथा सदनमा आउन बाँकी रहेका प्रस्तु हुने क्रममा रहेको विधेयकहरुका बारेमा गहन रुपमा छलफल भयो । र त्यो विषयमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको विषयमा सरकारले गरिरहेको काम कारबाहीको विषयमा त्यसैगरि अन्य मन्त्रीहरु विषेशगरि कृषिमन्त्री र स्वास्थ्य मन्त्रीले आ आफ्ना मन्त्रालयले गरिरहेका कामको बारेमा विस्तृतमा जानकारी गराउनुभयो’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले भने ।
बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै कुरा भए पार्टीभित्रै राख्न र बाहिरि एकढिक्का भएर प्रस्तुत हुन नेता तथा मन्त्रीहरुलाई निर्देशन दिएका थिए । ‘कांग्रेस एकढिक्का भएर एउटै आवाजका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको छ । सभापतिबाट पनि यही निर्देशन भएको छ’ घिमिरेले भने ।
कांग्रेसले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशको समर्थन पनि गरेको छ । अर्थतन्त्र चलायमान बनाउन र सुधार गर्नका लागि सल्लाहमै सरकारले अध्यादेश ल्याएको प्रवक्तासमेत रहेका पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बताए ।
उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान गर्न अध्यादेशमार्फत कानून संशोधन गर्न छिटो हुन्छ भन्ने कुरा मन्त्रीहरुले राख्नुभएको छ । संयन्त्रको तर्फबाट पनि ब्रिफिङ भएको छ । त्यसलाई सबैबाट स्वागत भएको छ । त्यो संसदमा तत्कालै प्रस्तुत हुन्छ ।’