Logo

गोरुजस्तो जोतिएर देशको सेवा गर्ने चाहना छः विप्लव



काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गोरूजस्तै जोतिएर देश र जनताको सेवा गर्ने चाहना रहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित जनपत्रकार संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि २०८४ मा जनताले नेकपाको पक्षमा मत जाहेर गर्न आवस्यक रहेको बताए । जनताले मत दिएको खण्डमा आफूहरुलाई काम गर्न सिंहदरबार नै नचाहिने उनले बताए ।

‘०८४ अग्रगमनको पक्षमा व्यक्त हुन्छ, समाजवादको पक्षमा व्यक्त हुन्छ, स्वाधीनताको पक्षमा व्यक्त हुन्छ । नेपाली जनताले अहिलेसम्म प्राप्त नगरेको स्वतन्त्रता र मुक्तिको चाहना छ । त्यो प्राप्त गर्नेतिर मत व्यक्त हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । त्यसो भयो भने हामीलाई सिंहदरबार पनि चाहिँदैन, एकचोटी बालुवाटारको करोडौं करोडको खाटमा सुतेर होईन, जनताको झुपडीमा बसेर गोरूजस्तो जोतिएर देशको सेवा गर्ने चाहना नेकपासँग छ,’– उनले भने ।

विप्लव नेतृत्वको नेकपाले आगामी संसदीय निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । यद्यपि नेकपा संसदीय व्यवस्थाविरोधी दल हो । नेकपा सबैको मित्र बनेर काम गर्ने उनले बताए । नेकपाले देश बेचुवा दलाल र जनता लुटेर खाने माफियाबाहेक अरु सबैसँग सहकार्य गर्ने महासचिव विप्लवले बताए । ‘नेकपा सबैको मित्र, देश बेचेर खाने दलाल, लिच्चडहरु बाहेक, जनताको सम्पत्ति उडाउने माफियाहरुबाहेक सबैसँग सहकार्य गरेर यो देशलाई अगाडि बढाउने हाम्रो चाहना छ,’– उनले भने ।

साथै, नेपाल गरिब भयो, सकियो भन्नेतिरबाट मात्रै नभएर नेपाल नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने सन्देश दिनेगरी आफूहरुले काम गर्ने उनले बताए । महासचिव विप्लवले नेपालले काँचुली फेर्न समय आउन बाँकी रहेको र आफूहरु त्यो समयको प्रतिपक्षामा काम गरिरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्