Logo

राप्रपा बैठकमा दीपकबहादुर सिंहले धवलशमसेरलाई थाङ्ने भनेपछि…



काठमाडौं । पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनेले ल्याएको राजनीतिक प्रतिवदनमाथि आफ्नो छुट्टै प्रस्ताव दर्ता गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमसेर राणाको तीव्र आलोचना भइरहेको छ ।

शुक्रबारबाट सुरु भएको बैठकमा धवलले आफ्नो १६ पन्ने छुट्टै प्रस्ताव ल्याएका थिए । उनले आफ्नो प्रस्तावमा प्रश्नमाथि प्रश्न गर्दै अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । शुक्रबारको बैठकमा प्रतिवेदन पेश गरेका उनी शनिबारबाट आलोचनाको निशानामा परिरहेका छन् । शनिबार बसेको बैठकमा संस्थापन निकटका नेताहरुले उनीमाथि कटाक्ष गरेका थिए ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका सांसद दिपकबहादुर सिंहले धवललाई थाङ्नेको संज्ञा दिएपछि बैठक स्थलमा सन्नाटा छाएको स्रोतले जनाएको छ ।

‘अहिले जनतालाई गाउँ-गाउँबाट जागरूक बनाउनुपर्ने, व्यवस्थाका विकृतिहरू विरुद्ध सडकमा कसरी उतार्ने भन्ने रणनीति बनाउने र संसदमा पार्टीको बलियो उपस्थिति कसरी देखाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने हो,’ सिंहले केन्द्रीय समितिमा बोल्दै भने, ‘तर यस्ता अनावश्यक थाङ्ने विषयले तीन दिनसम्म बैठकलाई अल्झाइराख्नुको अर्थ के हो ? यस्ता प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ।’

नेता सिंहले ३ दिनदेखि जारी केन्द्रीय समिति बैठकमा छलफल गर्नुपर्ने महत्त्वपूर्ण विषय हुँदाहुँदै महाधिवेशनले म्यान्डेट दिएको नेतृत्वलाई कमजोर बनाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताए।

सांसद सिंहले अनावश्यक विषयमा बहस गर्दा पार्टी कमजोर हुने र त्यही अभ्यासका कारण विगतमा पटक पटक पार्टी टुटफुटबाट गुज्रिएको स्मरण गराउँदै अहिलेको अवस्थामा पार्टी एकढिक्का बनाएर जानुको विकल्प नरहेको बताए ।

बैठकमा संस्थापन निकट मानिने सहमहामन्त्री धनबहादुर बुढाले एमालेबाट राप्रपामा आएका महामन्त्री जबराले लिङ्देनको निष्ठा र इमान्दारितामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए ।

‘महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ? पार्टीका नेताहरू पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारीको प्रश्न गर्न मिल्छ ?’ बुढाले प्रश्न गर्दै भने ।

अर्का केन्द्रीय सदस्य उद्धवराज भेटवालले दुष्कर्मको संज्ञा दिएको भन्ने शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरेका थिए । ‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने तर, पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिह्नमा चुनाव लड्न जाने नेताचाहिं चाहिने ?’ उनको प्रश्न थियो ।



प्रतिक्रिया दिनुहोस्