काठमाडौं, १३ माघ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता जितेन्द्र सोनालले एमालेका नेताहरुले भारतप्रति भ्रम पालेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता सोनालले एमाले नेता तथा कार्यकर्ताहरुले भारतले नाकाबन्दी लगाएको लगायतका विषयमा भ्रम फैलाएको बताएका हुन् । भातरतको ७६औं गणतन्त्र दिवस केन्द्रीत कुराकानीमा उनले नेपालमा भारतपक्षबाट नाकाबन्दी नभएको दाबी गरे । केपी ओली प्रधानमन्त्री भएको बेला आफ्नो नेतृत्वमा नाकाबन्दी गराएको नेता सोनालको दाबी छ । अधिकार र पहिचानको लागि आफूहरुले नाकाबन्दी गरेको उनको भनाइ छ ।
‘एमालेका नेताहरुको त्यो भ्रम हो । भ्रम उहाँहरुले पालेर राख्नु भएको छ । मधेशको गाउँ–गाउँमा गएर सोध्नुपर्छ नि, नाकाबन्दी गर्न को गएको थियो ? कुन जाति, कुन धर्म, कुन पार्टी थियो त्यहाँ । सबै आ–आफ्नो घरबाट चिउरा, चना लिएर रातदिन ६ महिना हामी नाकामा बस्यौं । भारतले नाकाबन्दी गर्यो भनेर भ्रमपूर्ण खेति गरियो । मैले गरेको हो नाकाबन्दी । लाखौं जनता त्यसका पात्र हुन् । उनीहरु गएर बस्नुभएको थियो, आफ्नो अधिकारका लागि, पहिचानको लागि बस्नु भएको थियो,’– उनले भने ।
साथै, नेपालले छिमेकी मुलुक भारतसँग सौहार्दपूर्ण सम्बन्ध बनाएर फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ । नेता सोनालले भारतसँगको सम्बन्ध दिल्ली–काठमाडौंको मात्रै नभएर रोटीबेटीको रहेको बताए । उनले देशको उन्नति, प्रगति र समृद्धिका लागि भारतलाई सहयोगी राष्ट्र बनाउन सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको प्रयास भइरहेको पनि उनले बताए ।
‘प्रधानमन्त्रीको चीन भ्रमण भएको छ । उहाँले भारत भ्रमणको लागि प्रयास गर्दै हुनुहुन्छ । हाम्रो परराष्ट्रमन्त्री दुई÷दुई चोटी भारत जानुभयो । त्यस कारणले दिल्ली र काठमाडौंको सम्बन्धको कुरा गर्नु भन्दापनि यो जनस्तरको सम्बन्ध, बेटीरोटीको सम्बन्ध, हाम्रो संस्कार र संस्कृतिको सम्बन्धलाई प्रगाढ पारौं । यही सम्बन्धमा टेकेर हामीले दिल्ली र काठमाडौंको सम्बन्ध राम्रो बनाऔं । दिल्ली र काठमाडौंको सम्बन्ध राम्रो बनेन भने हामीलाई पनि घाटा छ । अरुलाई पनि घाटा होला । कमजोरलाई बढी घाटा हुन्छ, त्यो कुरा हामीले मान्नुपर्छ । एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि हाम्रो जुन परिस्थिति छ, आर्थिक अवस्था छ, हाम्रो अन्य कुराहरु छन् । यी सवालमा हामी भारतसँग धेरै कुराहरुमा समन्वय, सहकार्य गर्न सक्छौं । हाम्रो उन्नति, प्रगति र समृद्धिको लागि भारत हाम्रो लागि ठूलो सहयोगी राष्ट्र हुनसक्छ । त्यसको लागि हामीले सम्बन्ध राम्रो बनाउँदै जानुपर्छ,’– उनले भने ।
नेता सोनालको पार्टी पनि ओली नेतृत्वको सरकारमा सहभागी छ । नेता सोनालले पश्चगामी संविधान संशोधन आफूहरुलाई स्वीकार्य नरहेको पनि उनले बताए । कांग्रेस–एमालेले पश्चगामी संविधान संशोधन गर्ने प्रयास गरेमा आन्दोलन गर्ने उनको चेतावनी छ । २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन र त्यसपछि भएका आन्दोलनको प्राप्त उपलब्धीको रक्षाका लागि आफूहरु लागि रहने पनि उनले बताए । यी आन्दोलन र उपलब्धीको रक्षाका लागि आफूहरु कुनैपनि सम्झौता नगर्ने नेता सोनालले बताए ।
‘अग्रगामी परिवर्तनलाई निषेध गरेर, बहुदलीय परिवर्तनलाई निषेध गरेर दुई दलीय व्यवस्था लाद्ने, हामीले प्राप्त गरेका उपलब्धीहरु पहिचान, प्रतिनिधित्व र सहभागिता, आरक्षण, संघीयताका सवालहरुका छेडछाड भयो, यसलाई कुनैपनि प्रकारले निषेध गर्न खोजियो, रोक्न खोजियो, हटाउन खोजियो भने यो कुरा हामी सहन सक्दैनौं । हामी संघर्षका सम्पूर्ण बाटो अवलम्बन गरेर हामी अगाडि बढ्छौं । २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन र त्यसपछि भएका आन्दोलनको प्राप्त उपलब्धीको रक्षा गर्ने हाम्रो कर्तव्य हुनजान्छ । यसमा कुनै प्रकारको सम्झौता हामी गर्दैैनौं,’– उनले भने ।
साथै, निर्वाचनमा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई सह्य नहुने बताएका छन् । उनले देशको व्यवस्था बहुदलीय रहेको स्मरण गराउँदै कांग्रेस–एमालेको कार्यशैली र नियतले अब उनीहरुले देश चलाउन सक्दैनन् भन्ने पुष्टि भएको बताए । उनले साना–साना दलहरु पनि सदनमा सहभागी हुने वातावरण मास्न नदिने उनले बताए । निषेधको राजनीति आफूहरुलाई सह्य नरहेको उनले बताए । नेता सोनालले मधेशवादी दलहरु संविधान संशोधनकाृे विषयमा एक भएर अगाडि बढ्ने तयारी रहेको बताए ।