Logo

क्रान्तिकारीको चुनावमा ‘भरतपुर मोडल’को चर्चा, मधेशको ४ भोट सापकोटा समूहले ‘चपाएको’ आरोप



काठमाडौं । ०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना चलिरहँदा तत्कालीन माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र चपाएपछि चर्चामा आएको भरतपुर झण्डै ७ वर्षपछि फेरि सोही पार्टीको भातृ संगठनमा लागू भएको छ ।

७४ साल भरतपुर- १९ मा झण्डै १०० वटा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा नेकपा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीलाई मतगणनास्थलबाट पक्राउ गरिएको थियो । पछि सो विवाद निर्वाचन आयोगमा पुग्यो । आयोगले फेरि मतदान गर्ने निर्णय सुनाएपछि पछि मतदान भएको थियो । सो मतदानमा झिनो मतान्तरलेएमाले उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल निर्वाचित भएकी थिईन् ।

शनिबार माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत मतदान भएको थियो । शनिबार भएको मतदानमा रातीदेखिनै मतगणना भइरहेको छ । नेतृत्वका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।

यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।

पछिल्लो अपडेट अनुसार सात प्रदेश र दुई विषेश प्रदेशमध्ये ६ प्रदेशको नतिजा सार्वजनिक भइसकेको छ । मधेशको मतगणना अन्तिम चरणमा पुग्दा विवादका कारण रोकिएको छ । मधेश प्रदेशको धनुषा जिल्लाको गणना चलिरहँदा खसेको मतभन्दा ४ मत कम पाईएपछि अहिले विवाद भएको स्रोतले जनाएको छ । उक्त चार मत सापकोटा समूहले चपाएको दाबी राईनिकटका नेताहरुको आरोप छ । भरतपुर मोडललाई माथ खुवाउने गरि मधेशमा मतपत्र चपाईएको आरोप उनीहरुले लगाएका छन् ।

अहिलेसम्म प्राप्त नतिजा अनुसार सापकोटा २० मतले अघि छन् । सापकोटाले ४८१ मत पाउँदा राईले ४६१ मत पाएका छन् । अब मधेशको केही र विश्वविद्यालय तथा उपत्यका प्रदेशको मत गणना हुन बाँकी छ । मधेश र विषेश प्रदेशमा आचारसंहिता र मतपत्रमा टिक लगाएको मसीको रङका कारण विवाद हुँदा मत गणना कार्य ढिलाइ भएको हो ।

अहिलेसम्म सार्वजनिक भएको मत परीणामअनुसार सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्