Logo

नगरपालिकाको विकास हेर्न चितवनका जनप्रतिनिधि मौलापुरमा



रौतहट । रौतहटको मौलापुर नगरपालिकामा भईरहेको विकास कार्य हेर्न, बुझन र सिक्नका लागि अन्य जिल्लाका जनप्रतिनिधिहरु आउन थालेका छन् ।

चितवनको रत्ननगर नगरपालिकाका स्थानीय नेताहरुले मौलापुरको किासको बारेमा शुक्रबार अवलोकन गरेका छन् । उनीहरुले मौलापुरमा लागू भएको विभिन्न योजनाहरु आफ्‌नो पालिकामा समेत कसरी लागु गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा व्यक्त गरेका थिए ।

रत्ननगर नगरपालिका वडा नं। १३ का वडा अध्यक्ष पोटबहादुर घिमिरेले मौलापुर नगरपालिकामा भएको विकास एवं त्यहाँका नीतिहरु आफ्‌नो पालिकामा समेत लागु गर्ने बताएका छन् । जनप्रेमी, राष्ट्रप्रेमी, विकासप्रेमी नीतिबाट प्रभावित भएर मौलापुरको भ्रमण एवं अवलोकनमा आफूहरु आएको घिमिरेले बताए ।

‘हामीले मौलापुर नगरपालिकामा भ्रमण अवलोकन गर्दा वास्तवमा विकासप्रेमी, नागरिकप्रेमी यहाँको जनप्रतिनिधि हुनुहुन्छ भन्ने हामीले देख्यौं । हामीले गर्वका साथ यहाँको बिकास एवं नीतिहरुलाई अन्यपालिकामा समेत लागु गर्नुपर्ने महशुस भयो,’ घिमिरेले भने, ‘यहाँको विकास हेर्दा यहाँको जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने हुन्छ । नागरिकको पक्षमा जनप्रिय काम यहाँका मेयर रिना साहले गरेको देख्यौं । वास्तवमा उहाँ विकास प्रेमी, शिक्षाप्रेमी, स्वास्थ्यप्रेमी मेयर हुनुहुदो रहेछ ।’

मौलापुर नगरपालिकाले लिएको शुन्य करको नीति सारै राम्रो रहेको घिमिरेले बताए । मौलापुर नगरपालिकामा शिक्षाका लागि छात्राहरुलाई दिईने साईकल, ल्यापटप, शिक्षकको व्यवस्थाका साथै धुलोमुक्त अभियान अन्तरगतको ग्यास सिलिण्डर वितरण, कानून अनुसार उमेर पुगेका छोरीको विवाहमा दिइने २५ हजार नगद, स्वास्थ्य, शिक्षा, यातायात, कृषक लगायतका क्षेत्रमा भईरहेको विकास एवं बनाइएको नीतिले यहाँका नागरिकले राम्रो सेवासुविधा पाएको घिमिरेले जनाएका छन् ।

‘मधेसमा तिब्रगतिमा विकास भईरहेको र त्यसमा मौलापुर नगरपालिका अबल र अगाडी देखिएको मैले महशुस गरेको छु । यहाँहरुको शाहस, सफलता अझै उचाईमा पुगोस भन्ने हाम्रो शुभकामना छ,’ घिमिरेले भने, ‘यहाँ धुवा रहित चुलोको परिकल्पना, छोरीहरुलाई निशुल्क शिक्षा, ल्यापटप, साईकल, विवाहमा नगद २५ हजारको सहयोग, महिलाहरु अस्पताल जाँदा पाउने निशुल्क एम्बुलेन्स सुविधा जस्ता कयौं योजनाहरुबाट यहाँका नागरिकहरुले सेवा पाईरहेका छन् ।’

भ्रमणमा आएकाहरुले मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती लगायतका भौतिक पुर्वाधारका बिकासबाट प्रभावित भएका छन् । रत्नगर नगरपालिकाको २८ वटा टोल विकास समितिका अध्यक्षहरु र वडा अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरु मौलापुर नगरपालिकाको बिकासको बारेमा भ्रमण, अवलोकन गरेका छन् ।

उनीहरुलाई मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्रप्रसाद यादव सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुले स्वागत गरेको सुमन यादवले जनाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्