Logo

सभामुख घिमिरे र सत्तारुढ दलका प्रमुख सचेतकबीच छलफल, प्रतिपक्षसहितको बैठक भोलि बस्ने



काठमाडौं, १३ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका विषयमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । सदनको आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।

छलफलबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख घिमिरेले सत्तारुढ दलका प्रमुख सचेतकबाट अघिल्लो अधिवेशनदेखि नै अल्झेर बसेका केही विधेयकहरुको विषयमा जान्न चाहेकाले आज छलफल गरिएको बताए ।

‘अल्झेर बसेका केही विधेयकहरु छन्, ती विधेकका विषयमा उहाँले हामीसँग केही जान्न चाहनु भएको हो । अघिल्लो संसद्देखि आएका केही विवादका विषयहरु छन् । उक्त विषयमा सत्तारुढ दलहरुको धारणा चाहीँ के हो भन्ने कुरा उहाँले जान्न चाहनु भएको रहेछ । हामीले ती विषयमा आफ्नो नेतृत्वसँग सल्लाह गरेर निर्णय दिन्छौं भनेको छौं,’– उनले भने ।

सभामुख घिमिरेले प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसहितको बैठक भोलि बोलाएको पनि नेता घिमिरेले बताए । ‘सभामुखले सत्तारुढ दलका सचेतक र प्रमुख सचेतकलाई बोलाउनु भएको थियो । सम्पूर्ण प्रमुख सचेतकहरु र सचेतकको बैठक भोलिफेरि बोलाउनु भएको छ । आजको बैठक खासगरी अहिलेको बैठकले गर्ने भौतिक तयारीदेखि लिएर अन्य विषयहरुमा सत्तारुढ दलहरुको धारणा सभामुखले बुझ्न खोज्नुभएको हो । हामीले आ–आफ्ना कुराहरु राख्यौं,’– उनले भने ।

भोलिको बैठकमा विस्तृत छलफल हुने र १५ गते फेरि कार्य व्यवस्था समितिको बैठक बसेर संसद् बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्