काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भएपछि दुई प्रदेशको गणना स्थगीत भएको छ । मतपत्रमा प्रयोग भएको मसीबारे विवाद हुँदा विशेष प्रदेश र विश्वविद्यालयको मतगणना अनिश्चितकालका लागि स्थगीत गरिएको निर्वाचन समितिले जनाएको छ ।
‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
नेतृत्वका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।
यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।
पछिल्लो अपडेट अनुसार सात प्रदेश र दुई विषेश प्रदेशमध्ये ६ प्रदेशको नतिजा सार्वजनिक भइसकेको छ । मधेशको मतगणना अन्तिम चरणमा पुग्दा विवादका कारण रोकिएको छ । मधेश प्रदेशको धनुषा जिल्लाको गणना चलिरहँदा खसेको मतभन्दा ४ मत कम पाईएपछि अहिले विवाद भएको स्रोतले जनाएको छ । उक्त चार मत सापकोटा समूहले चपाएको दाबी राईनिकटका नेताहरुको आरोप छ । भरतपुर मोडललाई माथ खुवाउने गरि मधेशमा मतपत्र चपाईएको आरोप उनीहरुले लगाएका छन् ।
अहिलेसम्म प्राप्त नतिजा अनुसार सापकोटा २० मतले अघि छन् । सापकोटाले ४८१ मत पाउँदा राईले ४६१ मत पाएका छन् । अब मधेशको केही र विश्वविद्यालय तथा उपत्यका प्रदेशको मत गणना हुन बाँकी छ ।
अहिलेसम्म सार्वजनिक भएको मत परीणामअनुसार सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् ।