Logo

राजधानीका ९९ प्रतिशतभन्दा बढी तारे होटल प्राधिकरणको योजना अनुमति बिनै सञ्चालित



काठमाडौं, १३ माघ । काठमाडौं उपत्यकाका ९९ प्रतिशतभन्दा बढी तारे होटलहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नलिएको पाइएको छ । प्राधिकरणका अनुसार योजना अनुमति नलिनेमा एक तारेदेखि ४ चारे होटलसम्म छन् । काठमाडौं जिल्लाभित्र एक तारे होटलको संख्या १२ रहेको छ । त्यस्तै दुई तारे होटल–१५ वटा, तीन तारे होटल २६८ वटा र चार तारे होटल २२ वटा रहेका छन् ।

त्यसैगरी, भक्तपुरमा एक तारे होलट १४, दुई तारे होटलको संख्या २३, तीन तारे होटल १८ वटा रहेका छन् । ललितपुरमा एक तारे होलट ५, दुई तारे होटल ८, तीन तारे होटल ४३ र चार तारे होटल ३ वटा रहेका छन् । उपत्यकाका तीन जिल्लामा सञ्चालित ४३१ तारे होटलमध्ये ९९ प्रतिशतभन्दा बढीले प्रधिकरणसँग अनुमति नै नलिएको स्रोतले बतायो ।

प्राधिकरणको ऐनअनुसार अनिवार्य रूपमा योजना अनुमति स्वीकृती लिएर मात्रै होटल संरचना बनाउन र सञ्चालन गर्न पाइन्छ । यतिसम्मकी प्रधानमन्त्री केपी शर्मा ओलीले केही हप्ता अगाडिमात्रै निकै तामझामसहित उद्घाटन गरेको पाँचतारे होटल मर्क्योरले समेत अनुमति नलिएको बताइएको छ । एभरेष्ट, ऱ्याडिसन, याक एण्ड यति, हायात, मल्ललगायतका पाँचतारे होटलहरू पनि प्राधिकरणबाट योजना अनुमति नलिई अवैध ढंगले सञ्चालित भइरहेका छन् ।

प्राधिकरणले नियमित नियन्त्रण वा निषेध गरेका काम कुराहरु कसैले पूर्व स्वीकृति विना गरेमा, प्राधिकरणले स्वीकृति दिँदा त्यस्तो कुनै शर्त तोकेको भए त्यस्तो शर्तविपरीत काम गरेमा त्यस्तोकाम तत्काल रोक्न आदेश दिनसक्ने अधिकार प्राधिकरणलाई ऐनले दिएको छ । प्राधिकरणको पूर्व स्वीकृतिविना कुनै संरचना निर्माण गरेको रहेछ भने ३५ दिनको म्याद दिई स्वीकृति विना निर्माण भएको संरचना भत्काउन वा हटाउन आदेश दिने अधिकारसमेत प्राधिकरणलाई छ ।

होटलमात्रै नभएर जग्गा प्लटिङ्ग, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सभा सम्मेलन भवन, सांस्कृतिक समारोह तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेज, नर्सिङ्ग होम, संयुक्त वा सामूहिक आवास, मनोरञ्जन स्थल निर्माण गर्नका लागि अनिवार्य रुपमा प्राधिकरण वा सम्बन्धित जिल्ला आयुक्तको कार्यालयबाट योजना अनुमती लिनुपर्ने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्