Logo

रविसँग फेरि मागियो धरौटी



काठमाडौं, १३ माघ । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन् ।

सहकारी ठगी प्रकरणमा लामिछानेसँग अहिलेसम्मकै धेरै धरौटी माग गरिएको छ । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।

सो मुद्दामा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्र बाबु राई, लामिछानेलगायत प्रतिवादी छन् । लामिछाने गोर्खा मिडियाका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । सो मुद्दाका २८ जना प्रतिवादीबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैंयाँ विगो माग दाबी गरिएको थियो ।

त्यस्तै, सो मुद्दामा लामिछानेबाट व्यक्तिगततर्फ २ करोड विगोसमेत माग दाबी गरिएको थियो । लामिछाने, नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड थप विगोसमेत कायम गरी अभियोग पत्र दायर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्