काठमाडौं । नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
पाण्डेलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जु सर्वोच्च पुगेकी हुन् । सो रिट आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको इजलासमा पेशी परेको थियो । राउतको इजलासमा पेशी परेपछि उनले हेर्न नमिल्ने भन्दै हेर्न नमिल्नेमा राखिएको थियो । आज पनि सोही इजलासमा पेशी परेपछि हेर्न नमिल्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे ०८० वैशाखमा पक्राउ परेका थिए । पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए ।
बन्दीप्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय अनि सर्वोच्च अदालतलाई समेत विपक्षी बनाइएको छ ।
२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।