Logo

दल नै व्यवस्थापन गर्न नसक्ने कांग्रेस-एमालेले देश चलाउन सक्दैन, हामी नेतृत्व दिनेगरी छलफलमा छौंः राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, १४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीति विचार र सिद्धान्तबाट च्यूत भइसकेको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले राष्ट्रिय राजनीति नै संकटमा रहेको दाबी गरेका हुन् । राजनीतिले जनताको चाहना, आवस्यकता र समस्याको सम्बोधन गर्न नसकेको उनको दाबी छ । राष्ट्रिय राजनीति नै गलत बाटोमा हिँड्दा अर्थतन्त्र सकसपूर्ण अवस्थामा पुगेको नेता यादवको दाबी छ ।

‘नेपालको राष्ट्रिय राजनीति संकटमा छ । यसले नेपाली जनताको चाहना, आवस्यकता र समस्यालाई पुरा गर्न सकेन । त्यो दिशामा काम गरेको छैन । नेपालको राष्ट्रिय राजनीति गलत बाटोमा रहेको हुनाले अर्थतन्त्र सकसपूर्ण अवस्थामा छ । राज्यका संरचनाहरु असक्षम सावित भइरहेको छ । जताततै असन्तुष्टिहरु छ, जनतामा अब यहाँ हाम्रो भविष्य छैन, केही हुँदैन भन्ने खालको नकरात्मक भाष्य निर्माण भएको छ । सबैमा सोफोकेसन छ,’– उनले भने ।

सरकारमा रहेकाहरु आत्मकेन्द्रीत भएर जनताको समस्याभन्दा पनि आफ्नो विषयवस्तु केन्द्रमा राख्दा अहिले सबै क्षेत्र आक्रान्त रहेको उनले बताए । वर्तमान संविधानले सबै जनताको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने उनले बताए । नेता यादवले यो संविधानको दायरा बढाउनुपर्ने बताए । उनले २०७२ सालमा जबरजस्त रुपमा संविधान जारी गरिएको बताए ।

साथै, नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नो पार्टी नै व्यवस्थापन गर्न नसकिरहेको उनले बताए । पार्टी नै व्यवस्थापन गर्न नसकेका कांग्रेस–एमालेका नेताले देश हाँक्न नसक्ने उनले बताए । ‘यिनीहरु दल नै व्यवस्थापन गर्न सकिरहेको छैनन् भने देश के व्यवस्थापन गर्न सक्छन् ? यी नेतृत्वहरु एकदम आत्मकेन्द्रीत र व्यक्ति केन्द्रीत भए । देशलाई अगाडि बढाउने चिन्तनको अभाव छ । जनताप्रतिको प्रतिवद्धता पूरा गर्ने चिन्तनको अभाव र ज्ञानको, सोचको अभाव छ,’– उनले भने ।

नेता यादवले आफूहरु मुलुकलाई नै नेतृत्व दिनेगरी आफूहरुको बहस र विमर्श भइरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्