काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ डा.चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेमाथि अदालतले ठूलो–ठूलो रकम धरौटी मागेको देख्दा आफूलाई अचम्म लागेको बताएकी छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उस्तै प्रकृतिको मुद्दामा अरुलाई ३ लाख, ५ लाख, १० लाख धरौटीमा छोडिएको र लामिछानेलाई भने ६० लाख, ६५ लाख हुँदै एक करोड धरौटी मागिएको बताईन् । आफूहरुले अदालतको सबै निर्णय मान्ने उनले बताईन् । तरपनि एक–एक करोड धरौटी मागिँदा आफू अचम्मित भएको बताईन् ।
‘धरौटीको रकम ठाउँ–ठाउँमा त्यत्रो ठूलो रकम, त्यस्तै प्रकृतिका कसुर गर्नेहरुलाई, अभियोग लागेकाहरु ३ लाख, ५ लाख, १० लाखमा छुटिराखेका छन् भने रविजीलाई ६० लाख, ६५ लाख, एक करोड भन्दाखेरी हामी पनि के भन्ने, के बोल्ने ठाउँ नै छैन । अदालतले गरेको निर्णयमा बोल्ने कुरापनि भएन । तर, हामी पनि मान्छे हो, अचम्म त लाग्छ । म आफू पनि चकित छु । एक–एक करोड धरौटी भन्दा हामीलाई पनि छक्क लागेको छ । बोल्ने कुनै ठाउँ छैन । बैंक ग्यारेन्टी राखेर निस्किँदा पनि गलत भाष्य बनाइएको छ,’– उनले भनिन् ।
साथै, पार्टी सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिँदा पार्टीमा कुनै समस्या नरहेको उनले बताईन् । लामिछाने र रास्वपा एउटा अभियान रहेको दाबी गर्दै उनले यो विचार र अभियान कहिल्यै पनि नमर्ने बताईन् । ‘रवि लामिछाने एउटा अभियान हो, धेरै रवि लामिछानेहरु जन्मिइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित भइसकेको छ । एउटा राजनीतिक पार्टीले गर्नुपर्ने कामहरु गरिहाल्छ । त्यो विचार र अभियान मर्दैन । रास्वपा आन्दोलनकै रुपमा स्थापित भएको पार्टी हो । रवि लामिछानेमात्रै होईन कसैलाई पनि अन्याय हुन हुँदैन,’– उनले भनिन् ।