काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय समितिको बैठक स्वार्थ बाझिनेगरी होटलमा राखिएको भन्दै आपत्ति जनाएको छ । सोमबार सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरुबीचको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो विषय उठाएका हुन् ।
गत ७ र ८ गते मन्त्रालयकै आयोजनामा जलस्रोत विधेयकमाथि समितिले छलफल गरेको थियो। संसद्मा विचाराधीन अवस्थामा रहेको जलस्रोत विधेयकको बारे संसदको पूर्वाधार समितिले होटलमा छलफल गरेको थियो । सो विषयमा माओवादीले आपत्ति जनाएको हो ।
‘सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु–कि समितिका बैठक आफ्नै कार्यकक्षमा गर्नुपर्छ । तर, बाहिर भइराछ । भर्खरै पूर्वाधार समितिको बैठक बाहिर भयो । यो थाहा पाएपछि हामीले दलका माननीयलाई नजानुस् भन्यौं ’ बैठकमा सभामुखसँग पाण्डेले भनेका छन् ।
दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बूढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो ।
गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको थियो ।
सांसदहरुले छलफल गरेको सो होटेल संघीय सरकारका उर्जा जलस्रोत तथा सिचाईंमन्त्री दीपक खड्काको हो । गत असोजमा मात्र प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा सो रिसोर्ट उद्घाटन गरेका थिए ।